देवीप्रसाद शर्मा
नयाँ वर्ष, केवल पात्रो फेरिने शृङ्खला होइन । यो त समयले नयाँ सास फेर्ने क्षण हो । पुरानो थकान, निराशा र अविश्वास लाई विसाएर नयाँ उमङ्ग, आशा र विश्वास जगाउने घडी हो । विगतका तितामिठा अनुभवहरूलाई सम्झँदै, मनका कुनाकन्दरामा लुकेर बसेका रहर र सपनाहरूलाई फेरि उज्यालो पार्ने अवसर पनि हो, नयाँ वर्ष ।
वैशाख महिना । नेपालीहरूको नयाँ वर्षको पहिलो महिना । वसन्त ऋतुको आगमन, रुखहरूले नयाँ पालुवा फेर्ने समय । फूलका बोटहरूले मुस्कुराउँदै कोपिला फक्राउने मौसम । जब वैशाखको पहिलो बिहानी सुनौलो घामसँगै मुस्कुराउँछ, मुस्कुराउन थाल्छन् नेपालीहरूका नयाँ आशाहरू । चराहरूको चिरबिराहटले पुनर्जन्मको कथा सुनाउँछ । मानिसहरू आत्मसंवाद गर्छन् । अघिल्लो साल मैले के के गरेँ ? के गर्नुपर्ने थियो ? म बाट के कस्ता कमीकमजोरीहरू भए ? नयाँ सालमा ती कमीकमजोरीहरू दोहोरिन नदिन मैले के के गर्नुपर्छ ? आफ्ना हरेक क्षणहरूलाई सुन्दर र खुसीमय तुल्याउन मैले के कस्तो योजना बनाउनुपर्छ ? आदि प्रश्नहरू र नयाँ उत्तरहरूले दोहोरी खेलिरहन्छन् । निष्कर्षमा एउटा सुन्दर खाका बन्छ, जसले नेपालीहरूलाई आगामी सम्भावनाको सुन्दर लोकमा पु¥याइदिन्छ ।
नयाँ वर्ष केवल एक व्यक्तिको मात्र होइन, समाजको पनि हो, राष्ट्रको पनि हो । एउटा परिवारको मात्रै पनि होइन, कुनै सामूहिक संस्था र सङ्गठनको पनि हो । जसरी नयाँ वर्षले एक व्यक्तिमा उमङ्ग र नयाँ आशाको सञ्चार गराउँछ, नयाँ सम्भावनाका ढोका खोलिदिन्छ त्यसरी नै समाज र राष्ट्रका लागि पनि नयाँ वर्षले खुसीको बहार ल्याइनिुपर्छ र छरिदिनुपर्छ आशाका नयाँ किरण ।
अघिल्लो वर्षको लगभग अन्त्यसम्म मुलुक कष्टकर बन्यो । भयानक त्रास, आशङ्का, अविश्वास, असहिष्णुता, प्रतिशोध, आरोप–प्रत्यारोप आदिले नेपालीको मनमष्तिस्कमा बास गरे । पुराना दलको सत्तालिप्सा । सत्ताधारीहरूको अहमता । स्वेच्छाचारिता । चरम बेथिति । अनियमितता । भ्रष्टाचार । यस्ता कुतत्वका कारण सिर्जित परिस्थितिले मुलुक नै नरहने हो कि भन्नेसम्म पु¥यायो । राज्यका महत्वपूर्ण सम्पत्तिहरू जलेर नष्ट भए । थुप्रै राजनीतिकर्मीका निजी सम्पत्तिहरू ध्वस्त भए । त्यो भन्दा पनि बढ्ता त कलिला स्कुले बच्चाहरू यो संसारमा कहिल्यै नफर्कने गरी अस्ताए । कैयौँ आमाहरूको काख रित्तियो । कैयौँ दिदीबहिनीहरूको सिन्दुर पुछियो, चुरा फुटे । छोराछोरीहरूले भरोसा गुमाए । नयाँ र पुराना भनिनेहरूको प्रतिशोधको भावनाले नेपालको राजनीतिलाई खर्लप्पै निल्यो । भ्रष्टाचार नियन्त्रण, सुशासन, शिक्षा र स्वास्थ्यको सर्वसुलभता, बेरोजगारीको अन्त्यसहित मुलुकको समग्र विकास र समृद्धिको आम नागरिकको उत्कण्ठामाथि कुठाराघात गर्दै आएका सरकार, राजनीतिक दल र नेतृत्वमाथि यतिसम्म अविश्वास पैदा भयो कि, जसले मुलुकलाई अनियमित चुनावको सङ्घारमा पु¥यायो ।
विषम परिस्थितिमा बनेको सरकारले सम्पन्न गरेको फागुन २१ को चुनावमा भर्खर भर्खर संसदीय अभ्यास गर्दै गरेको दललाई अत्यधिक मत प्राप्त भयो । अरूले त के बिजेता दल आफैँले सोच्दै नसोचेको झन्डै दुई तिहाइको परिणामले संसददेखि सरकारसम्म नयाँ अनुहारहरू स्थापित गरिदियो । रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनावमा जाँदा पाएको जनमत हेर्दा एकप्रकारको अघोषित प्रत्यक्ष कार्यकारीको चुनावजस्तै देखियो । सायद आम नेपालीले खोजेको व्यवस्था पो यही थियो कि ?
जे जसरी होस् नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीहरूले नयाँ सांसद, मन्त्री र सरकार पाएका छन् । विश्वास छ, जेनजी आन्दोलनको बलमा भएको चुनाव र उक्त चुनावी परिणामबाट बनेको संसद र सरकारले जनअपेक्षित कार्यहरू गर्नेछ । विदेशी चलखेल र इशाराबाट बनेको वा बनाइएको सरकार भन्ने कतिपयको आरोपलाई चिर्न पनि यो सरकारले पञ्चशील नीतिको आधारमा सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नेछ । राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको लागि दरिलो र गर्विलो ढाल बनेर उभिनेछ । छिमेकीहरूसँग मित्रवत रहनेछ । आफूलाई नेपाली नागरिककै सरकार हो भनी सावित गर्नेछ ।
सुशासनका क्षेत्रमा नयाँ सङ्घीय सरकारका केही नयाँ कदमहरूको प्रभाव नागरिकहरूले महसुस गर्न पाएको यथार्थ हो । शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेर परिवर्तनको सङ्केत त सरकारले दिन खोजेको नै छ । यद्यपि लोकप्रियताका लागि कतिपय निर्णयहरू अनुभव र अध्ययनविना नै गरिँदिँदा ती निर्णयले पार्न सक्ने दुरगामी असरप्रति सरकार चनाखो हुनैपर्ने देखिन्छ ।
एक स्वतन्त्र नागरिकका हैसियतमा भन्नुपर्ने के हो भने, सरकारले जनसरकोकारका विषयवस्तुलाई प्राथमिकमा राखेर काम गर्नैपर्छ । संसदले जनमतको कदर गर्दै आवश्यक जनमुखी ऐन कानुनहरू समयमै दिन सक्नुपर्छ । बोलेर होइन । कागजमा लेखेर मात्र होइन । नागरिकको दैनिक जीवनमा प्रत्यक्ष अनुभव हुने गरी काम गरेर देखाउनुपर्छ । विशेष गरेर न्यायसम्पादनमा निष्पक्षता, शिक्षा, स्वास्थ्य, रोजगार आदि संवैधानिक मौलिक हकहरूको अक्षरशः कार्यान्वयनमा सरकार चुक्नुहुँदैन । शिक्षा र स्वास्थ्यमा भइरहेको चरम व्यापारीकरणलाई तुरुन्त नियन्त्रण गरेर आम नागरिकको पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ ।
नयाँ सङ्घीय सरकारलाई चुनौती भन्दा पनि अवसरहरु धेरै प्राप्त भएको देखिन्छ । यस अर्थमा कि जनताले एउटै दललाई प्रतिनिधिसभाको झन्डै दुई तिहाइ प्रतिनिधिहरूसहित पहिलो स्थान दिनु चानचुने कुरा होइन । रास्वपाले पुराना दलहरूबाट पाठ सिकेर आफूलाई गुट, उपगुट र फुटको शिकार हुनबाट जोगाउन सक्छ या सक्दैन ? अहिले नै शङ्का गरिहाल्न उपयुक्त नभए पनि त्यस्तो नहोस् भन्ने कामना गर्न भने मज्जाले सकिन्छ ।
संसदभित्र अन्य दलको पनि प्रतिनिधित्व छ । नयाँ र पुरानाको भाष्य बनाएर सम्बन्धको खाडल झनै गहिरो बनाउनुहुँदैन । मान्छे उमेरले पुरानो हुने होइन । सोच विचार र चिन्तन नयाँ छ भने उमेरको कुरा गौण हुन्छ । नयाँमा पनि जडता हुन सक्छ, यथास्थितिवादले जरा गाडेको हुन सक्छ । यो कुरा सबैले बुझ्नु जरुरी छ । तसर्थ नयाँले पनि पुरानाका राम्रा पक्ष र अभ्यासहरू अनुसरण गर्न सक्नुपर्छ । पुरानाको अनुभव र विज्ञतालाई महत्व दिँदै उपयोग गर्न सक्नुपर्छ । यसो गर्दा मुलुकको व्यवस्था थप बलियो हुने र अवस्था सुदृढ हुने दुवै हुन सक्छ । ठुलो दलको हैसियतले रास्वपाले ठुलो छाती बनाउनैपर्ने देखिन्छ ।
नागरिकहरूका आवश्यकता थुप्रै छन् । केही असन्तुष्टि छन् । केही गुनासाहरू पनि छन् । सरकारहरूसँग । राजनीतिकर्मीसँग । कर्मचारीतन्त्रसँग । न्यायिक र सुरक्षा निकायसँग । अन्य सार्वजनिक निकायहरूसँग । यी कुराहरूको सम्बोधन गर्न सङ्घीय सरकारको मात्र भूमिका रहँदैन । तीनै तहका सरकारहरू, निजामती प्रशासन, सुरक्षा संयन्त्र, न्यायपालिका, शिक्षाकर्मी, स्वास्थ्यकर्मी सबैसबैको जिम्मेवारीबोध र दायित्वबहनबाट मात्र सम्भव छ । राज्यका सबै अवयवहरूमा भएका बिसङ्गतिहरूको चिरफार गरी देखिएका कमीकमजोरी सुधार गर्न नागरिकहरूको. आलोचनात्मक चेत मात्र होइन, साथ र सहयोग त अति नै आवश्यक छ ।
अन्तमा नयाँ वर्षले नयाँ सरकार र संसदलाई जनउत्तरदायी बनाउन प्रेरणा देओस् । नयाँ सोच, विचार र चिन्तनलाई उजागर गर्न सकोस् । सार्वजनिक निकायमा हुने नीतिगत भ्रष्टाचार र वेथितिको अन्त्य गर्दै, न्याय र सुशासनमा निर्मम ढङ्गले काम गर्न जागरुक बनाओस् । प्रतिशोध भन्दा पनि क्षमा, विनयशीलता र मेलमिलापका आधारमा राज्य सञ्चालन गर्न अभिप्रेरित गरोस् । शासकीय सुधार र आवश्यक परे सर्वदलीय सहमति जुटाउँदै संविधानमा भएका कमीकमजोरी सच्याउने वातावरण प्रदान गरोस् । पुरानाको नयाँ विचारलाई आत्मसात गर्ने चेतना प्रदान गरोस् नयाँलाई । नयाँको जोश, जाँगरलाई खिसिट्युरी होइन, हौसला प्रदान गर्ने सद्बुद्धि प्राप्त होस्, पुरानालाई । बडो सोचविचारका साथ मुलुकको हितमा दुरगामी निर्णयहरू गर्ने शक्ति देओस् सत्तापक्षलाई । सरकारले गर्ने जनमुखी कार्यसम्पादनका आधारमा राम्रा कामलाई साथ दिने एवम् गलत कार्यमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न शक्ति देओस्, प्रतिपक्षलाई । नकारात्मक सोचबाट पूर्णतः माथि उठाओस् नागरिकलाई । यत्ति हो, नयाँ वर्ष नयाँ सोच र जाँगरको प्रस्थानविन्दु बन्नुपर्छ । नयाँ वर्ष, नयाँ सरकार र सबै सबैलाई नयाँ वर्षको शुभकामना ।
अस्तु ।
0 Comments